अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 15:24

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

बिआरटीनेपाल २०८१ पुष १६ गते ११:३५ मा प्रकाशित

पोखरा । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् ।

सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भत्र्सनासमेत गरेको छ ।

सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताए । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको धारणा सरुभक्तको थियो । गजलमै विशेषज्ञता हासिल गरेका विद्वान्हरूले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको विचार राखे । गजलको परम्परागत शाब्दिक अर्थ ‘प्रेमिकासँगको कुराकानी’ लाई मात्रै आत्मसात् गरेर लेख्ने परम्परा धेरै अघि नै तोडिएको भन्दै उनले ‘के त्यसो भए आजका दिनमा पनि महिलाले गजल नै नलेख्ने त ?’ भन्ने प्रश्न गरे । परम्परागत लयविधान मात्रै अँगालेर लेख्नुपर्ने परम्परावादी सोचले एक्काइसौँ शताब्दीका गजलकारको सोचलाई सम्बोधन गर्न नसक्ने विचार राख्दै सरुभक्तले कुन शैलीमा लेख्ने भन्ने कुरा लेखकीय स्वतन्त्रताको कुरा भएको बताए । उनले कसैले लेखेको गजललाई हास्यास्पद लाग्ने खालका कुनै नाम दिने काम बन्द गर्न पनि आग्रह गरे ।

कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सूत्रको नियममा बाँध्ने प्रयास गर्नु मूर्खता हुने भनाइ राखे । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजलहरूलाई पाठक÷स्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने अतिवादी सोचको विरोध गरे । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो । ‘एकअर्कालाई हिलो छ्यापेर के फाइदा ?’ श्रेष्ठको प्रश्न थियो । बहर मिलाउँदैमा सबै गजल नबन्ने बरु त्यसको भाव र स्पर्श सामथ्र्य बलियो हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका अध्यक्ष गजलकार लक्ष्मण थापाले कतिपयलाई बहरको भूत सवार हुँदा सूत्र मिलाउने ध्यान मात्रै हुने र गजलको विचार पक्ष मर्ने गरेको उदाहरण दिए । उनले पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आआफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रमा आयोजना गर्न सकिने बताए ।

गजलकार डा. ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुन सक्ने बताए । उनले स्वतन्त्र वा बहर जेमा लेखे पनि गजल जस्तो गजल लेख्न सबैसँग आग्रह गरे ।

गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउँदै बहरमा लेख्दैमा अर्कै लोकका गजलकार बनेको अनुभव नगर्न आग्रह गरे । उनले आआफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा उपस्थित गजलकारहरूले गजललाई गजलका रूपमा स्थापित हुन नदिनका लागि गरिएको षड्यन्त्रको विरोधमा सबै बोल्नुपर्ने बताएका थिए । सोही अवसरमा प्रस्तुत गरिएको अवधारणपत्रमाथि विचार विमर्श गरी सातबुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।

यस्तो छ घोषणपत्र :
पोखरेली गजलप्रेमी समूह, पोखरा
गजल घोषणापत्र–२०८१

सिर्जनधर्मिता र रचनात्मक वादविवाद एवम् संवादले साहित्य समृद्ध बन्छ । केही समययता सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा नेपाली गजलको सहअस्तित्वयुक्‍त विकासक्रमलाई प्रहार गरी अराजकता सिर्जना गर्ने, अशिष्‍ट भाषाशैलीमा भिन्न मतका गजलकारहरूलाई होच्याई आफूलाई ‘गजलको आधिकारिक पण्डित हुँ’ भनी ठान्ने र गजल लेखनमा लागेकाहरूलाई भ्रमित पारी निहीत स्वार्थ सिद्ध गर्न खोज्ने थोरै सङ्ख्याका व्यक्‍तिहरूले गजल शुद्धीकरणका नाममा गालीगलौज गरिरहेको देखिएको हुनाले सबैलाई सचेत र सजग पार्न हामी पोखरेली गजलप्रेमीहरूको समूहले गजलसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरी बुँदागत रूपमा यो गजल घोषणापत्र–२०८१ जारी गरेका छौँ ।

१. नेपाली साहित्यको कवितामा लोक छन्द, शास्‍त्रीय छन्दोबद्ध कविता लेखन परम्परा झैँ नेपाली गजलमा बहरबद्ध गजल लेखन परम्पराको संरक्षण र विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्‍वस्त छौँ ।

२. तिसको दशकदेखि नेपाली गजल लेखनमा भित्रिएको स्वतन्त्र लयविधानयुक्‍त गजल लेखनको नवीन परम्परा, जसले सुस्ताएको गजल लेखनलाई पुनरुत्थान गरी यस अवस्थासम्म ल्याइपुर्‍याउन ठुलो भूमिका खेलेको छ, जुन अहिले नेपाली गजलकारहरूबिच लोकप्रिय रहेको छ, को निरन्तर विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्‍वस्त छौँ ।

३. नवीन शिल्पशैली, विषय र चिन्तनहरू भित्रिरहनुले साहित्यलाई स्वस्थ र समृद्ध बनाउँछन् । प्राचीन छन्दहरूको लयविधानबाट मुक्‍त भई विश्‍वव्यापी रूपमा गद्य कविताको विकास भए झैँ गजलको बहर अर्थात् प्राचीन लयविधानबाट मुक्‍त भई स्वतन्त्र लयविधानयुक्‍त गजलको विकास हुनु एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्‍वस्त छौँ ।

४. केही व्यक्‍तिहरूले नेपाली गजल लेखनमा अनावश्यक विवाद उत्पन्न गरी, अराजकताको सिर्जना गरी गजललाई शुद्ध पार्ने नाममा आफ्नो स्वार्थ सिद्ध गर्दै बहरमा नलेखिएका सबै गजल गजल नभई त्यस्ता गजललाई अनेकौँ ‘हास्यास्पद नाम’ दिई हावादारी सिद्धान्तकार बन्ने र नेपाली गजलको स्वाभाविक विकास प्रक्रियालाई विभाजन गरी विशेष गरी नवोदित गजलकारहरूलाई दिग्भ्रमित पारिहेका छन् । हामी यसको घोर भत्र्सना गर्दछौँ । स्वतन्त्र रूपले गजल रचना गर्ने विश्‍वभरका नेपाली गजलकारहरूलाई आफूले लेखेको स्वतन्त्र लयविधानका गजललाई गजल नभई ‘अरू नै केही’ रहेछ भनी भ्रममा नपर्न आग्रह गर्दछौँ ।

५. छन्दमा नलेखी कविता हुँदैनथ्यो भने छन्दका महासाधक महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले गद्य शैलीमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य रचना गर्ने थिएनन् । बहर पनि गजल लेखनको प्राचीन छन्द हो त्यसैले स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नु जस्तै एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्‍वस्त छौँ । प्राचीन शास्‍त्रीय परम्परा मात्र ठिक र अरू बेठिक भन्ने सोच राखिएको भए विश्व साहित्य र नेपाली साहित्यमा गद्य कविता, आधुनिक नाटक, कथा, उपन्यास, निबन्ध कुनै पनि विधा जन्मने थिएनन् भन्ने यथार्थमा सबै साहित्यकार र विशेष गरी गजलकारहरूको ध्यान आकृष्ट गर्दछौँ ।

६. शास्‍त्रीय बहर र स्वनिर्मित÷स्वतन्त्र लयविधान दुवै शैलीमा लेखिएका गजललाई उत्तिकै सम्मान गर्नुपर्छ र ती दुवै शैलीका गजलका आआफ्ना अस्तित्व र महत्ता छन् भन्ने कुरामा हामी विश्‍वास गर्दछौँ ।

७. यदि गजलका धेरै तत्त्वमध्ये एउटा तत्त्व ‘बहर’ प्रयोग नगरी गजल गजल बन्दैन भन्ने हो भने गजलका रदिफ, काफिया, मतला, मकता, मिसरा, सेर आदि अर्थात् गजलका अधिकांश तत्त्वहरू प्रयोग गरेर लेखिएका रचना कथित ‘नयाँ विधा’ कसरी बन्न सक्छ ? बहर र गैरबहरका नाममा लगाइने आक्षेप, गालीगलौज र आरोपप्रत्यारोपलाई तिलाञ्जली दिँदै नेपाली गजलको समुन्नतिको मार्गमा सहअस्तित्वमूलक ढङ्गले हामी सबै लागौँ र नेपाली गजलको इतिहासलाई कुरूप पार्ने, धमिल्याउने र विभाजित पार्ने तत्त्वहरूदेखि सावधान हुन हामी अपिल गर्दछौँ ।

प्रतिक्रिया