अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 12:18

नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

बिआरटीनेपाल २०८१ पुष २ गते १२:४८ मा प्रकाशित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा दुईदिने मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न भएको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन)सँगको सहकार्यमा नेजाले अनलाइन प्रविधिमार्फत वर्कसपको आयोजना गरेको हो । वर्कसपमा मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । भण्डारीले “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिने क्रममा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई समेट्नुभएको थियो । प्रशिक्षक भण्डारीले मल्टिमिडिया जर्नालिजमको विविध आयामबारे जानकारी दिनुका साथै वर्कसपमा मल्टिमिडिया रिपोर्टिङ तथा सम्पादनसम्बन्धी सीपसमेत सिकाइएको थियो । ३५ जनाको सहभागिता रहेको सो कार्यक्रममा विद्यमान प्रविधिको उपयोगिता र यसको प्रयोगात्मक रूपबाट सिक्ने अवसर प्राप्त भएको र यसका कारण प्रविधिको प्रयोगमार्फत पत्रकारिता पेसालाई छिटो र गुणस्तर रूपमा प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका थिए ।

सो अवसरमा मल्टिमिडिया जर्नालिस्ट लीना दुवाडी तथा बेनुप भट्टराईले मल्टिमिडिया स्टोरीटेलिङका सम्बन्धमा आफ्ना अनुभवहरु बताउनुभएको थियो । नेजाका महासचिव बाबुराम दाहालले सहजीकरण गर्नुभएको सो दुइदिने वर्कसपमा नेजाका अध्यक्ष सुरज भण्डारीले प्रशिक्षक, वक्ता तथा सहभागीहरुमा धन्यवाद दिँदै पत्रकारको हितअनुकूल समय-समयमा यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम सञ्चालन आवश्यक रहेको यसलाई नेजाले निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया