अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 07:37

भ्रष्टाचार मुद्दामा पाँच वर्षभित्रै कारबाही हुने विधेयक पास गर्न दिइएन : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पारित गर्न नदिइएको बताउनुभएको छ । ज्यापु दिवसका अवसरमा आइतबार वसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले आफूहरूले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाए पनि विधेयक पारित गर्न नदिइएको बताउनुभयो । भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो । यसमा ढिलोमा पाँच वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागिएकामा जननिर्वाचित प्रतिनिधिहरूबाट अस्वीकार भएको ओलीले बताउनुभयो ।

“अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्‍यो । के बिगार्नुपर्‍यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन,” उहाँले भन्नुभयो । उहाँले अब उजुरी अल्झाएर ५०औँ वर्षसम्म पनि मुद्दा चलाउनु नपर्ने गरी विधेयक बनाइएको सुनाउनुभयो । भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनुपर्नेमा ओलीले जोड दिनुभयो । “…….भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाइ पाएको छ न कारबाही भएको छ । यस्तो हुनु हुँदैन,” उहाँले भन्नुभयो ।

ओलीले थप्नुभयो, “पाँच वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने ? भनेर कुरा गरे । छोड्ने भनेको छैन, पाँच वर्षभित्र कम से कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । पाँच वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए ।” प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका निम्ति पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू