अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 22:38

सहकारी ठगी प्रकरण: रविविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिँदै

बिआरटीनेपाल २०८१ मंसिर ३० गते ४:२० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । प्रहरीले उहाँविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । सोमबार लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताएका छन् । ती अधिकृत भन्छन्, ‘सोमबार प्रतिवेदन जान्छ ।’

अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’ उहाँविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । लामिछानेविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।

संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् । पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता सरकारसँग छ ।

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।

प्रतिक्रिया