लुम्बिनीमा शनिबार हुने पूजापाठमा भाग लिन २२७ चिनियाँ भिक्षु नेपाल आइपुगेका छन् । एयर चाइनाको चार्टर्ड फ्लाइटबाट उनीहरु शुक्रबार अपराह्न गौतम बुद्ध विमानस्थले भैरहवामा ओर्लेका हुन् । चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ स्याओहुईले नेतृत्व गरेको टिम भैरहवा आइपुगेको हो । चिनियाँ राजदूत चेन सोङले उनीहरुको तस्वीर ट्वीटरमा राख्दै स्वागत गर्नुभएको छ ।
‘अहिलेसम्मकै सबैभन्दा बढी यात्रु बोकेको उडानमा आएका चिनियाँ भिक्षुलाई स्वागत,’ राजदूत चेनले भन्नुभएको छ, ‘नेपाल र चीनलाई बौद्धधर्मले सांस्कृतिक आदानप्रदानमार्फत् जोड्ने छ ।’ राजदूतले २२७ जना भनी उल्लेख नगरी पनि २२० भन्दा बढी भिक्षु भन्ने शब्द प्रयोग गर्नुभएको छ । शुक्रबारै राजधानीमा नवौं नानहाई बुद्धिज्म राउन्डटेबल आयोजना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गनुृभएको थियो ।
नानहाई बुद्धिज्म राउन्डटेबलमा भाग लिन चीन, थाइल्यान्ड, लाओस्, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बंगलादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं आएका छन् ।