अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 02:53

एकीकृत समाजवादीले वार्षिक कार्ययोजना बनाएरमात्रै नेताहरूको कार्यविभाजन गर्ने

बिआरटीनेपाल २०८१ मंसिर २८ गते ६:३७ मा प्रकाशित

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भएपनि कुनै निर्णय नभएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । ‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ’, भट्टराईले भन्नुभयो, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ ।’

महासचिव घनश्याम भुसालले बुधबारको बैठकमा पेस गरेको कार्ययोजनालाई आधार बनाएर शुक्रबारको बैठकमा नेताहरुले वार्षिक कार्ययोजनाबारे धारणा राखेका थिए । शुक्रबारको बैठकमा नेताहरू भानुभक्त जोशी, राजेन्द्र राई, श्रीनाथ बराल, रामकुमार भट्टराई, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र शेरबहादुर कुँवरले धारणा राखेका छन् । पदाधिकारीले बोल्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्यले धारणा राखेर वार्षिक कार्ययोजनाबारे टुंगोमा पुग्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनुभयो । ‘शनिबार पनि वार्षिक कार्ययोजनामाथिकै छलफल हुने देखियो । शनिबार कार्ययोजनाको छलफल सकियो भने आइतबार कार्य विभाजनको एजेन्डा प्रवेश गर्ने देखिन्छ’, खतिवडाले भन्नुभयो,‘सकारात्मक ढङ्गले छलफल अघि बढेको छ ।’

सो पार्टीका नेताहरूको कार्यविभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो । उक्त कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन हुनेछ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्य विभाजन गर्न सकेको छैन । जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । संगठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकाङ्क्षा राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू