अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 02:35

बच्चा बढी जन्माउन भनेर टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

बिआरटीनेपाल २०८१ मंसिर २८ गते ६:२५ मा प्रकाशित

जापानको टोकियो महानगर सरकारले घट्दो जन्मदरलाई रोक्न आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ। विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी सो योजना बनाएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ। हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ। यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ।

पछिल्लो समयमा विश्वका धेरै विकसित देशमा हप्ताको चार दिन मात्रै काम लगाए कर्मचारी खुशी र उत्प्रेरित भएर उत्पादकत्व बढ्ने, कर्मचारी भर्ती गर्न सजिलो हुने र उनीहरूलाई काममा लामो समयसम्म राख्न मद्दत गर्ने अनि बिरामी बिदामा व्यापक कमी आउने भन्दै हप्ताको तीन दिन बिदा दिनु पर्ने माग उठिरहेको छ। कतिपय ठाउँमा यो प्रयोग सुरू पनि भइसकेको छ। तर टोकियो सरकारले भने जन्मदर बढाउनका लागि यो योजना ल्याएको हो। ‘बच्चा जन्माउने, हुर्काउने लगायत कारणले कसैले पनि आफ्नो ‘क्यारियर’को बली चढाउनु नपरोस् भन्नका लागि हामी हाम्रो काम गर्ने शैलीलाई लगातार समीक्षा गर्नेछौं,’ टोकियोका गभर्नर युरिको कोइकेले पछिल्लो नगरसभामा भन्नुभयो । लामो समयदेखि महिला सशक्तिकरण जापानका लागि समस्या रहेको औंल्याउँदै उहाँले यसमा जापान बाँकी विश्वभन्दा धेरै पछाडि रहेको बताउनुभयो ।

जापानको जनसंख्या लगातार १५ वर्ष घटेको छ। र यो वर्ष पनि घट्ने लगभग निश्चित छ। सन् २०१२ देखि २०२२ सम्मको दशकमा टोकियोको जन्मदर १५ प्रतिशतभन्दा बढीले घटेको छ। हजारौं कर्मचारी भएको टोकियो सरकारको यो योजनाले जन्मदर बढाएर जनसंख्या घट्नेक्रमलाई रोक्न थोरै भए पनि योगदान गर्ने अपेक्षा गरिएको छ। जापानका अन्य स्थानीय सरकारले पनि पछिल्ला समयमा यस्ता योजनाहरू ल्याएका छन्।

जनसंख्याको आधा हिस्सा ओगट्ने पुरूषले बच्चा नजन्माउने भएकाले जनसंख्यालाई घट्न नदिन जनसंख्याको अर्को आधा हिस्सा ओगट्ने महिलाले आफ्नो जीवनकालमा कम्तीमा दुई बच्चा जन्माउनु पर्छ। केही बच्चाको सानैमा मृत्यु हुने भएकाले जनसंख्या सन्तुलनमा राख्न (रिप्लेसमेन्ट रेट) का लागि एक महिलाले आफ्नो जीवनकालमा २:१ बच्चा जन्माउनुपर्ने विज्ञहरू बताउँछन्। देश विकसित हुँदै जाँदा महिला पनि शिक्षित र जागिर खाने भएकाले बिहे ढिला गर्ने वा गर्दै-नगर्ने, गरे पनि कतिले बच्चै नजन्माउने, जन्माए पनि एउटा बच्चा मात्रै जन्माउने लगायत कारणले विकसित देशमा पछिल्ला केही दशकदेखि जन्मदर घटिरहेको छ।

जन्मदर घट्दै गयो भने काम गर्न सक्ने नागरिकको संख्या पनि विस्तारै घट्दै गएर आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविदहरूको भनाइ छ। स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवाको विकासले मान्छेको आयु पनि बढ्दै जाँदा न्यून जन्मदर भएको देशमा काम गरेर कर तिर्नेको तुलनामा पेन्सन खाएर बस्नेहरूको अनुपात बढेर राज्यलाई झन् धेरै भार पर्छ। त्यसैले बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि ती देशले सुत्केरी बिदा बढाउने, पुरूषलाई पनि बच्चा हुर्काउन बिदा दिने, चाइल्ड केयर सेवा सुधार्ने,एक भन्दा बढी बच्चा जन्माए करछुट दिने लगायत योजना ल्याइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय