कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एशोसिएशनले प्रतिनिधि नपठाउँदा न्यायाधीशको नियुक्ति गर्न नसकिएको बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।कानूनमन्त्री चौरसियाले सर्वोच्च अदालतमा अझै ४ जना न्यायाधीशको नियुक्ति हुन बाँकी रहेको तर बारले प्रतिनिधि नपठाइदिँदा पदपूर्ति हुन नसकेको बताउनुभयो । उहाँले बारले प्रतिनिधि पठाउनेबित्तिकै न्यायाधीश नियुक्ति हुने दाबी गर्नुभयो ।
कानूनमन्त्री चौरसियाले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश थप गर्दा पनि बाँकी मुद्दा सक्न कठिन रहेको भन्दै अझै ४÷५ जना थप गर्न जरुरी देखिएको बताउनुभयो । उहाँले न्यायसंगत निर्णय गरेर कर्मचारीको व्यवस्थापन गर्ने र अझ सशक्त बनाउने बताउनुभयो । उहाँले आम नागरिकको भरोसा न्यायपालिकालाई बनाउने गरी सरकार अघि बढिरहेको बताउनुभयो । कानूनमन्त्री चौरसियाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले समन्वय गरेर काम अघि बढाउनुपर्ने बताउनुभयो ।