राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ। पाँच वटा जिल्लास् कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रहिसकेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ। पाँचै वटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। हाल लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। उहाँ कात्तिक २ गते पक्राउ पर्नुभएको हो । यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको हो। पोखराको सूर्यदर्शन बचत सहकारीको दोस्रो चरणको अनुसन्धानका लागि सुरूमा प्रहरीले छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो।
सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ। सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले उनीहरूलाई अधिकतम ९० दिन राखेर अनुसन्धान गर्न पाउँछ। उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्ने हुन्छ ।
जोशी पक्राउ परेको ८० दिन भएको छ। त्यसअनुसार सरकारी वकिल कार्यालय कास्कीले अबको १० दिनमा मुद्दा कास्की जिल्ला अदालत समक्ष पेस गर्नुपर्ने बाध्यता छ। सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि अबको १० दिनभित्र मुद्दा पेस गर्ने बताउनुभयो। मुद्दाको अभियोजन गर्नका लागि पनि प्रहरीले समयमै आफूहरूलाई प्रतिवेदन बुझाउने उहाँको भनाइ थियो। ‘अब १० दिन बाँकी छ। प्रहरीले समयसीमाभित्रै हामीलाई प्रतिवेदन बुझाउँछ। कानुनले दिएको हदम्यादभित्र हामीले जसरी पनि मुद्दा अदालतमा पेस गर्छौं,’ उहाँले भन्नुभयो ।
यस्तै रवि लामिछानेसहित प्रतिवादीहरूविरूद्ध अदालतबाट आइतबार लिएको म्याद पनि बुधबार सकिएको छ। त्यसैले उनीहरूलाई बिहीबार पुनस् अदालतमा उपस्थित गराइने पनि काफ्लेले बताउनुभयो । पोखराको सूर्यदर्शन सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको हो। अहिले पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ।