सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान लिएको छ। मंगलबार बिहान ९ बजेदेखि सुरू भएको बयान लिन सकिएको जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले जानकारी दिनुभयो। ‘बयान लगभग साढे १ बजेतिर सक्यौं, अहिले फाइनल टच हुँदैछ,’ उहाँले भन्नुभयो, ‘प्रक्रिया पुर्याउने काम भइरहेको छ।’ यस्तै रास्वपा कार्यकर्ताहरूले भने जिल्ला प्रहरी कार्यालय पर्साको गेट बाहिर प्रदर्शन गरेका छन्।
कास्कीबाट रविलाई सोमबार जहाजमा काठमाडौं र त्यहाँबाट सिमरा हुँदै गाडीमा हालेर पर्सा पुर्याइएको थियो। यस्तै आइतबार नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनालको बयान सकिएको थियो। सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उहाँहरूविरूद्ध पुर्जी लिएको हो। सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।