अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

एमाले पार्टी कार्यालय जग्गा दानसम्बन्धी रिटको सुनुवाइ स्थगित

बिआरटीनेपाल २०८१ मंसिर २५ गते ६:०६ मा प्रकाशित

नेकपा ९एमाले० ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङबाट जग्गा दान लिएकोविरूद्ध परेको रिट स्थगित भएको छ। मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा परेको उक्त रिट स्थगित भएको हो। विपक्षीका कानुन व्यवसायीको तर्फबाट उक्त रिटको सुनुवाइ स्थगित भएको हो। यसअघि आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्‍द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो। त्यसअघि मंसिर १८ गते पनि सोही न्यायाधीशहरूको इजलासमा परे पनि हेर्न भ्याएको थिएन।

कात्तिक ७ गते दर्ता भएको यो मुद्दा ७ पटक हेर्न नभ्याइने र दुई पटक हेर्न नमिल्नेमा परेको छ। यसअघि कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो। भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिनुभएको थियो ।

सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिनुभयो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाउनुभएको छ । उहाँले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गर्नुभएको छ । राजनीतिक दल र राजनीतिका नाममा लिनेरदिने चन्दा दान पारदर्शी बनाउन परमादेश दिन समेत उहाँले माग गर्नुभएको छ ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको थियो । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू