अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 10:07

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बिआरटीनेपाल २०८१ मंसिर २४ गते ५:५२ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अध्यक्ष सिलवालले गलत विवरण दिएर जागिर लम्बाउने काम गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । अख्तियारका अनुसार उनले पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लागेको छ ।

प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाशमा हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रहेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको मुद्दामा उल्लेख छ ।

उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भनी अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०८० सालको साउन १५ गतेपछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू