अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 01:31

पोखराको विशेष नगर सभा एजेन्डा नराखिकनै स्थगित

बिआरटीनेपाल २०८१ मंसिर २० गते ५:०४ मा प्रकाशित

पोखरा महानगरपालिकाको बिहीबार बसेको विशेष नगर सभाको बैठक एजेन्डा पनि प्रस्तुत नगरीकन स्थगित भएको छ। पोखरा सभागृहमा बसेको बैठक सुरु हुनेवित्तिकै आइतबारसम्मका लागि स्थगित भएको हो। बैठकको सुरुमा उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरिन्। त्यसपछि मेयर धनराज आचार्यले मंसिर २३ गते आइतबारसम्म बैठक स्थगित भएको घोषणा गर्नुभयो । कात्तिक १४ गते बसेको ३७ औँ कार्यपालिका बैठकले महानगरमा कार्यरत २८ प्राविधिकसहित ३५ जना कर्मचारी हटाउने निर्णय गरेको थियो। निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका नेकपा एमालेका जनप्रतिनिधिले विशेष नगर सभाको आह्वान गर्न माग गरेका थिए।

उनीहरुको मागबमोजिम आह्वान गरिएको विशेष नगरसभा पाँच नबित्दै स्थगित भएको छ। मेयर आचार्यले विशेष बैठकमा प्रस्तुत गरिने एजेन्डामाथि छलफल गर्न बाँकी रहेको बताउनुभयो। राजनीतिक दलसँग सहमतिको प्रयास भइरहेकाले आइतबारसम्म थप छलफल गर्ने बताउँदै स्थागित गरिएको उहाँको भनाइ थियो। ३५ जना कर्मचारी हटाउने निर्णयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच जुहारी चलिरहेको छ। एमाले कर्मचारी हटाउन नहुने पक्षमा छ भने कांग्रेस लोकसेवाबाट पदपुर्ति भएकाले ती कर्मचारीलाई बिदा गर्नुपर्नेमा एजेन्डामा अडिग देखिन्छ।

सो निर्णय गर्न बसेको कार्यपालिका बैठकलाई समेत एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका थिए। कर्मचारी पनि आफूहरुलाई हटाउने निर्णयको विरुद्धमा उच्च अदालत पोखरालाई गुहार्न पुगेका थिए। तर, उच्चले अन्तरिम आदेश जारी गरेन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू