महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् ।बिहीबार ललितपुरमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले महिला स्वयंसेविकाहरु जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे ।
उनीहरुले आफूहरुको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताउनुभयो । महिला स्वयंसेविकाहरुले गरेको कामको मूल्यांकन हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताउनुभयो । उहाँले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभइ परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताउनुभयो । उहाँले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरु गरिरहेको भएपनि समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।