सुनसरीमा प्रहरीले सरकारी नम्बर प्लेटका दुई वटा गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले गएराति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो ।धरान उपमहानगरपालिका–१३ अमरहाट भन्ने ठाउँमा प्रहरीको जाँच छलेर भाग्ने क्रममा गाडीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा १ झ ५१२७ नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर प्लेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीसँग मिलेको छ । तर नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन भन्ने विषय अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताउनुभयो । प्रहरीले गाँजासहित मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको र फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ ।