जलवायु परिवर्तनको असरका कारण नेपालको कृषि उत्पादन निकै घटेको पाइएको छ । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरेको अनुसन्धानले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउनेजस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ ।अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्र खडेरीबाट अत्यधिक प्रभावित भएकाे देखाएको अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्राध्यापक डाक्टर प्रेमसागर चापागाईंले बताउनुभयो ।
खडेरीको कारण कृषिबालीहरू सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरू बसाइँसराइ तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको चापागाईंले बताउनुभयो ।अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ र केही अन्न उत्पादन भने बढेको देखाएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८ दशमलव ५ प्रतिशत घरपरिवारले मात्रै मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।
पाँच वटा विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरेको अध्ययनपछि तथ्याङ्क सार्वजनिक गरेको हो । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग, चीनका दुई वटा विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भूगोल विभाग र बङ्गलादेशको अध्ययन केन्द्र मिलेर अध्ययन गरेका हुन् । अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको हो ।