राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष रहेका पूर्वडीआईजी छविलाल जाेशीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहाकारीबाट झन्डै आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उल्लेख गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध त्यसपछि रुपन्देही, काठमाण्डौ र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । कास्की, रुपन्देही र काठमाण्डौमा बयान सकेर प्रहरीले लामिछानेलाई चितवन पुर्याएको छ । चितवनमा आज दोस्रो दिन पनि बयान लिएको छ ।