नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो । नेपालले टोखा–छहरे सुरुङमार्ग अनुदानमा बनाइदिन चीन सरकारलाई प्रस्ताव गरेको छ । नेपालको प्रस्तावसम्बन्धी पत्र चीनले स्वीकार गरेको हो ।
सहमतिको दोस्रो बुँदामा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । यस्तै नौ तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । वार्ताका क्रममा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको र यसले नेपाल–चीनको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको उहाँले बताउनुभयो ।
हस्ताक्षर भएका ९ वटा बुँदाको शीर्षकमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) उल्लेख भएको छैन । प्रधानमन्त्री ओलीको भ्रमणअघि प्रमुख सत्ता साझेदार कांग्रेस र एमालेले बीआरआई कार्यान्वयनसम्बन्धी खाकामा सहमति जनाएका थिए । यसअघि यो विषयमा सत्तारूढ दलबीच मतभेद देखापरेको थियो । नेपालले सन् २०१७ मा नै चीनसँग बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म परियोजना कार्यान्वयनका लागि सहमति भएको छैन ।