अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 18:05

सार्वजनिक ऋणको भारबाट अहिले नै आत्तिनु पर्दैन : अर्थमन्त्री पाैडेल

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:०८ मा प्रकाशित

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले अहिले नै ऋणबाट आत्तिनु नपर्ने बताउनुभएको हो । उहाँले लामो समयसम्म दिगो बनाइराख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसूस गरेको पनि उल्लेख गर्नुभयो । नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालनसम्बन्धी नयाँ कानून बनाउने प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी पनि गराउनुभएको छ । क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै उहाँले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले सार्वजनिक लगानीमा र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू