नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको बताउनुभएको छ । पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२/ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताउनुभएको हो । काँग्रेस(एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसङ्ख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उहाँको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रूपमा मिलेको पुनले बताउनुभयो ।
कांग्रेस(एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले काँग्रेस(एमाले एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रूपमा बुझेको दाबी गर्नुभयो । ‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन्,’ पुनले भन्नुभयो,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितिका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।’
सुशासनका लागि भ्रष्टाचार र अनियमितता विरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उहाँले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएपछि सरकार ढलेको बताउनुभयो । संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको बताउनुभयो । प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरूले सरकार चलाइरहेको आरोप लगाउनुभयो ।