अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 23:34

पशुपतिनाथमा बालाचतुर्दशी मेला

बिआरटीनेपाल २०८१ मंसिर १३ गते २३:३६ मा प्रकाशित

भोलिको बालाचतुर्दशीका लागि पशुपतिलगायत शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो बढ्न थालेको छ ।दिवङ्गत पितृका नाममा महादीपदान गर्न दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । मङ्सिर कृष्णपक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ ।दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज (धान, जाैँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने परम्परा छ । बालाचतुर्दशीमा शतबीज छर्ने अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् ।

जाग्राम बस्ने भक्तजनका लागि पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार आज दिउँसो २ बजेपछि मात्र भक्तजनलाई कैलाश क्षेत्रमा प्रवेश गर्न दिइनेछ ।कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध लगाइएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिनुभयो ।यस्तै पशुपति क्षेत्रमा मासु र जाँडरक्सीको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिनाथको मेलाका लागि काठमाण्डौ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरेको जनाएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई अनुरोध गरेको कोषले जनाएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, गाडी व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ । यस्तै नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार एक सय रुपैयाँका दरले शुल्क लिने भएको छ । राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले बताउनुभयो । आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू