अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 11:20

युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानका बासिन्दा घर फर्किन थाले

बिआरटीनेपाल २०८१ मंसिर १३ गते ५:२९ मा प्रकाशित

इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू घर फर्कन थालेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज बिहानै युद्धविराम सम्झौताको घोषणा गर्दै तत्कालै कार्यान्वयन गर्न आग्रह गरेपछि इजरायल सहमत भएको हो ।इजरायलले आफ्नो उत्तरी क्षेत्रबाट विस्थापित भएका नागरिकलाई अझै पनि घर फर्कन अनुमति दिएको छैन । तर दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौं नागरिक घर फर्कन थालेका बीबीसीले जनाएको छ । दक्षिण लेबनान जाने राजमार्गमा मानिसहरू जयजयकार गर्दै यात्रा गरिरहेका खबरमा उल्लेख छ । लेबनान र इजरायलको सिमानामा रहेका गाउँबाट ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका थिए ।

गएको वर्षको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेर १२ सय जनाभन्दा धेरैको ज्यान लिएको थियो । त्यसको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी आक्रमण गरेपछि हिजबुल्लाहले इजरायलमा मिसाइल हान्न शुरू गरेको थियो । इजरायलले लेबनानको राजधानी बेरुतसहितका शहरमा दिनहुँजसो शक्तिशाली मिसाइल र हवाई आक्रमण गरिरहेको थियो । केही महिनादेखि इजरायली सेना लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण थालेपछि युद्ध झनै बढेको थियो । इजरायली आक्रमणबाट एक वर्षको बीचमा चार हजार जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ ।

आज भएको युद्धविराम सम्झौताअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछन् । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ । हिजबुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गरेमा आक्रमण गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिनुभएको छ । हिजबुल्लाहले यसलाई आफ्नो विजयका रूपमा लिएको छ  । तर इजरायली प्रधानमन्त्री नेतान्याहुले पनि हिजबुल्लाहलाई अब केही वर्षसम्म उठ्न नसक्नेगरी कमजोर बनाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू