अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 02:25

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्‍यो : कृषिमन्त्री अधिकारी

बिआरटीनेपाल २०८१ मंसिर १३ गते ४:४८ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको बताउनुभएको छ ।बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताउनुभयो । उहाँले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको बताउनुभयो । उहाँले कर्मचारीलाई उपदान दिनुपर्ने ८ करोड ३८ लाख,कर्मचारी तलब ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख,कर्मचारी तलव १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख बाँकी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताउनुभयो । उहाँले सरकारले बिहीवारको मन्त्रीपरिषद्बाट उखुको समर्थन मूल्य तोक्ने बताउनुभयो । उहाँले भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने बताउनुभयो । उहाँले बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको बताउनुभयो ।

मन्त्री अधिकारीले किसानलाई दिनुपर्ने मल समयमा उपलब्ध गराउन नसक्नुको पछाडि सरकारको झन्झटिलो कानून भएको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले सार्वजनिक खरिद ऐन लागयतका कानूनहरु संशोधन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको बताउनुभयो । उहाँले कानूनहरु संशोधन आगामी संसद अधिवेशनमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया