अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 18:37

रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ३:१८ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनुभयो । उहाँले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताउनुभयो । उहाँले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने बताउनुभयो । अध्यक्ष श्रेष्ठले पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्र्न कोशिस गर्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताउनुभयो । उहाँले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गर्नुभयो । उहाँले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू