सरकारले सुन आयातमा लाग्ने भन्सार दर घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ ।सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउनुभयो । पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । अस्ति आइतवा तोलाकाे एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा हिजो घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज सुनकाे भाउ दुई हजार ६ सयले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकाेमा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । हिजो र आज दुई दिन सुनचाँदी पसलमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीले बताएका छन् ।सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउनुहुन्छ । ‘हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्याङ्क उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्’, उहाँले भन्नुभयो ।
सुन आयातको अधिकार वाणिज्य बैंकहरूले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरूले सुन आयात नगरेको महासङ्घका पूर्वअध्यक्ष शाक्य बताउनुहुन्छ । ‘बैंकहरूले आयात गरेका छैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ’, उहाँले भन्नुभयो । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी अहिलेको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । याे काेषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसका कारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा त्याेअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।
बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरूप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गरगहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरूले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालू आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । यसबाट राज्यले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गएकाे आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बराबरकाे दुई हजार ६ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । यसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।