अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 08:26

उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र तयार : तीन ठाउँमा निर्विराेध, ४१ ठाउँमा निर्वाचन हुने

बिआरटीनेपाल २०८१ मंसिर ९ गते ६:१५ मा प्रकाशित

यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपचुनावका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको छ ।उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको आयोगले जनाएको । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् । पालिकाका रिक्त ४४ पदमध्ये तीन जना निर्विरोध भइसकेकाले अब ४१ ठाउँमा मतदान हुनेछ ।

आयोगले गएको मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रचारप्रसार गर्नेक्रममा आचारसंहिता विपरीत छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरु परिचालन भएका जनाएको छ । उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । उपचुनावमा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । चुनावी सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने गरी सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू