कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।गत कात्तिक २५ गते १३ दिनका लागि थपिएको म्याद सकिएपछि आज प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएकोमा न्यायाधीश भीमलाल बेलबासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले लामिछानेको बयान अभैm नसकिएको भन्दै म्याद थप्न माग गरेको थियो । लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । लामिछानेसँग पूर्व डिआइजी छविलाल जोशीलाई पनि १५ दिन नै म्याद थपिएको छ । लामिछाने र जोशीलगायतमाथि विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर हिनामिना गरेको आरोप लागेको छ ।
यता, रास्वपा नेताहरुविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलना सम्बन्धि रिटमाथि आज सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको अदालतको अपहेलना सम्बन्धि रिट आज हेर्न नभ्याइनेमा परेको हो ।