अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 15:55

चिलिमेका तीन आयोजनाको निर्माण सकियो, १६८ मेगावाट विद्युत् थपियो

बिआरटीनेपाल २०८१ मंसिर ८ गते ७:२३ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो सान्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको बिजुली बिक्री गरिइसकेको छ । ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबार (हिजो)देखि राष्ट्रिय प्रसारणलाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा बिजुली उत्पादन गरिँदै छ । परीक्षण सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि सान्जेन र रसुवागढीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ ।

माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो सान्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०/७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका निम्ति ‘पिकिङ’ पोखरी निर्माण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू