अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 16:33

नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति

बिआरटीनेपाल २०८१ मंसिर ८ गते ६:४० मा प्रकाशित

भारतीय जनता पार्टीका नेता डा।विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको गुनासो गर्नुभएको छ । शनिवार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन ।’ ‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ’ । उहाँले यो विवादलाई संवादमार्फत समाधान गर्न सकिने समेत बताउनुभयो । तर त्यसका लागि प्रयास नभएको बताउँदै उहाँले भन्नुभयो– ‘एउटा परिवारमा मतभेद हुन्छ तर त्यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ त्यसका लागि सुझबुझको आवश्यकता छ ।’

नेपालमा नाकाबन्दी हुँदा समेत नेपालको नेतृत्वले युएनमा गएर भारत विरुद्धमा उजुरी गरेको गुनासो गर्दै जोलीले जुन काम भारतले गरेकै थिएन त्यसको गुनासो युएनसम्म पुर्‍याउनुको अर्थ नभएको बताउनुभयो । नेपाल र भारत बिचको सम्बन्ध बेटी रोटीको सम्बन्धभन्दा माथि रहेको बताउँदै उहाँले विश्वमै यो सम्बन्ध अद्भूत रहेको बताउनुभयोए । नेपाल र भारतमा मात्र होइन विश्वका जुनसुकै देशमा यी दुई देशका मान्छे बसेका र त्यहाँ उनीहरुको बिचमा राम्रो सम्बन्ध रहेको भन्दै जोलीले प्रशंसा गर्नुभयो ।

सांस्कृतिक एकता समेत बलियो राख्न नेपाल–भारतबिचको सम्बन्ध सशक्त रहनुपर्ने उल्लेख गर्दै जोलीले दुवै बराबरी रहेको बताउनुभयो । नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको समेत उहाको भनाई छ । जोलीले नेपालमा धर्म परिवर्तन विरुद्धको कानुन भए पनि धर्म परिवर्तनको गतिविधि चलिरहनु चिन्ताको विषय भएको बताउनुभयो । ‘नेपाल धर्मनिरपेक्ष राज्य होस् या हिन्दु राज्य त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको हो, यसमा कसैको हस्तक्षेप हुनुहुँदैन’ उहाँले भन्नुभयो, ‘ त्यसैले धर्म परिवर्तनको कार्यलाई रोक्नुपर्छ ।’ भाजपाका नेता जोली केही दिनदेखि नेपालमा हुनुहुन्छ । उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू