मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि सत्तारूढ दल नेपाली कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गरेको छ । सर्कुलरमा सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिइएको छ । सर्कुलर मार्फत कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन पनि निर्देशन दिएको छ । पार्टीले ‘दोषीलाई दण्ड दिलाउने’ प्रतिबद्धता जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहित सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई इंगित गर्न खोजेको छ । लामिछाने सहकारी ठग भएको भन्दै लामो समय कांग्रेसले सदन र विभिन्न सार्वजनिक मञ्चबाट उक्त एजेण्डा स्थापित गर्न संघर्ष गरेको थियो । कांग्रेसकै अडानमा संसदीय छानबिन समितिमात्र बनेन, समितिको प्रतिवेदनकै आधारमा उनै लामिछाने हाल प्रहरीको हिरासतसम्म पुगेका छन् ।
केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गरेका हुन् । उपनिर्वाचन हुने स्थानीय तहका समिति, जिल्ला र प्रदेश कार्यसमितिहरूको नाममा बुधबार १५ बुँदे सर्कुलर जारी भएको हो । ‘बुधबार नै हामीले सर्कुलर तल पठाइसकेका छौँ,’ समितिका एक सदस्यले भनेका छन् । स्रोतका अनुसार स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई उक्त सर्कुलर पठाइएको हो । जसमा दलहरू बिच सद्भाव र सामाजिक एकताको विषय मुख्य रूपमा राखिएको छ । ‘चुनावी प्रतिस्पर्धाका बिच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुछ,’ सर्कुलरमा लेखिएको छ ।
महामन्त्री शर्माद्वारा जारी सर्कुलरमा नेकपा एमालेसँग सत्ता सहकार्यको विषय पनि समावेश छ । अर्थात् कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको छ । ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रस्ट हुनुपर्छ,’ सर्कुलरमा लेखिएको छ । सर्कुलर मार्फत कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनाव केन्द्रित अभियान बाहेक अन्य कार्यक्रम मंसिर १६ गते अघि नगर्न पनि निर्देशन जारी गरेको छ । यस्तै मत प्रभावित गर्न सक्ने व्यक्तिहरूलाई जुनसुकै अवस्थामा रहे पनि आफ्नो स्थानीय तहमा पुगेर समय दिनैपर्ने उल्लेख गरेको छ । ‘चुनाव हुने भूगोलमा प्रभाव राख्ने साथीहरू देशभित्र जहाँ भए पनि फर्किएर गाउँमा समय दिने,’ सर्कुलरमा लेखिएको छ ।