प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले दुई मुलुकबिचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्नुभएको थियो ।