अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 12:02

युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ५:४१ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र नभई मध्यम दुरीको भएको दाबी गर्नुभएको छ । युक्रेनको निप्रो शहरमा हिजो गरेको आक्रमणबारे जवाफ दिँदै पुटिनले साढे दुईदेखि तीन किलोमिटर प्रति सेकेण्डको गतिमा चल्ने मध्ययम दुरीको अस्त्र भएको बताउनुभएको बीबीसीले जनाएको छ । यो नयाँ परिक्षण नभई परम्परागत अस्त्र रहेको पनि पुटिनको दाबी छ ।

यसअघि युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको आरोप लगाउनुभएको थियो । तर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यो अस्त्र नयाँ डिजाइन गरिएको र आणविक हतियार बोक्न सक्षम रहेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले यो अस्त्रको चेतावनी अमेरिकासहित युक्रेनका सहयोगीहरुले बुझेको उहाँको भनाइ छ ।

रुसी राष्ट्रपती पुटिनले युक्रेनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ । यसैबीच उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) ले रुसले लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्दैमा युक्रेनलाई गर्ने सहयोग परिवर्तन नहुने बताएको छ । नाटोका प्रवक्ता फराह दखलाल्लाहले रुसको चेतावनीकै कारण युक्रेनका सहयोगीहरू पछि नहट्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्तै बेलायतका विदेश सचिव डेभिड लाम्मी र फ्रान्सका विदेश सचिव जीन–नोएल ब्यारोटले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर युक्रेनमा दीगो शान्ति स्थापना गर्न सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट युद्ध खतरनाक अवस्थामा पुगेको भन्दै आफूहरु नाटो र रुसी टकरावबाट जोगिनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच रुसी आक्रमणको जोखिम भन्दै युक्रेनले आजको संसद् बैठक स्थगित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू