नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भीर परिस्थितिको भुमरीमा धकेलेको बताउनुभएको छ । बुधबार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनी प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गर्नुभएको हो।
उहाँले नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको ७५ वर्ष पूरा भए पनि कम्युनिस्ट आन्दोलनका उद्देश्यहरू अझै सफल नभएको धारणा राख्नुभयो । प्रकाण्डले कम्युनिस्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भए पनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको इतिहासको गम्भीर समीक्षा गर्ने बेला भएको बताउनुभयो।
नेपालको सामन्ती, दलाल पुँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरूले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो। पत्रकार सम्मेलनमा पार्टीको ११ औँ पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।