नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको सन्दर्भमा आज उहाँले यस्तो बताउनुभएको हो । शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो’ ।
प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका न्यायपूर्ण सङ्घर्षमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको प्रष्टिकरण गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’ का रुपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान दिने सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग आग्रह पनि गर्नुभयो । २०६३ साल मंसिर ५ गते सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।