सहकारी पीडितहरूले काठमाण्डौमा फेरि प्रदर्शन गरेका छन् । यसअघि पटक–पटक आन्दोलन गर्दै आएकोमा सरकारले सहमति कार्यान्वयन नगरेपछि फेरि सडक आन्दोलनमा आउनुपरेको पीडितहरूले बताएका छन् ।
आज चावहिल, गठ्ठाघर, पुल्चोक, कालीमाटी र सोह्रखुट्टेबाट एकैसाथ निकालेको र्याली माइतीघरमा पुगेर विरोध सभामा परिणत भएकाे थियो । सहकारी पीडितको न्याय, सहकारीमा जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता गराउन उनीहरूले माग गरेका छन् । त्यस्तै सरकारीको रकम अपचलन गर्नेहरूको सम्पत्ति जफत गराउन, अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिकको जीवन रक्षा गर्न, सहकारीले निम्त्याएको विकृति र विसङ्गतिको अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन् ।
देशभरका तीन सय ५७ वटा सहकारीको १४ लाख जनाभन्दा धेरै बचतकर्ताको रकम डुबेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताउनुभयो । सहकारी पीडितले बचत रकम फिर्ताका लागि आन्दोलन गर्दै आएको १९ महिना भइसकेको छ । तर अहिलेसम्म आश्वासन मात्रै पाएको केसीले बताउनुभयो ।