अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 01:52

पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, युक्रेनलाई ल्यान्ड माइन दिन बाइडेन सहमत

बिआरटीनेपाल २०८१ मंसिर ५ गते ५:२९ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । जसमा आणविक शक्तिद्वारा समर्थित कुनै पनि देशले रुसमाथि गरेको परम्परागत आक्रमणलाई आफ्नो देशमाथि गरेको संयुक्त आक्रमण मानिने उल्लेख छ ।युक्रेनमा रुसी सैनिक गएर आक्रमण शुरू गरेको एक हजारौं दिनमा आएको नयाँ नीति आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न अनुमति दिएपछि आएको नीतिले पश्चिमा देशहरूलाई युक्रेनबाट पछि हट्न बाध्य बनाउन सक्ने सुरक्षा विश्लेषकहरूले बताएका छन् । युक्रेनलाई लामो दूरीका हतियारहरू रुसी क्षेत्रमा प्रहार गर्न दिनुको अर्थ रुस र नाटो युद्धमा छन् भन्ने हुनेछ भन्दै पुटिनले यसअघि नै अमेरिका र नाटोका अन्य सहयोगीहरूलाई चेतावनी दिइसक्नुभएको छ ।

रुसी राष्ट्रपति पुटिनले युद्धमा आणविक हतियार प्रयोग भएको खण्डमा आफ्नो देशमा त्यस्ता आक्रमणबाट बच्न गर्नुपर्ने तयारीलाई चुस्त राख्न पनि मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ । यसैबीच अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेन युक्रेनलाई ‘एन्टी पर्सनल’ ल्यान्ड माइन उपलब्ध गराउन सहमत हुनुभएकाे छ । युक्रेनको सीमाभित्र मात्रै प्रयोग गर्ने गरी ‘एन्टी पर्सनल’ ल्यान्ड माइन उपलब्ध गराउने सहमति भएको बीबीसीले जनाएको छ । पछिल्लो केही महिनादेखि युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रुसी सेनालाई रोक्न यो उपयोगी हुन सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू