अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 07:30

कोशीमा पहिचान पक्षधरहरु फेरि आन्दोलित, चैत १० भित्र पुन: नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटम

बिआरटीनेपाल २०८१ मंसिर ३ गते ४:४७ मा प्रकाशित

प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने मागसहित आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशको नाम फेर्न दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । हिजो विराटनगरमा पहिचान पक्षधरहरुले शक्ति प्रदर्शन गर्दै आमसभा गरेका थिए । समितिले कोशी नाम खारेज गर्न माग गर्दै फागुन १७ लाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । समितिले चैत १० सम्ममा कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटमसमेत दिएको छ ।

समितिले कोशी नाम खारेजी गरी पुनः नामकरणको प्रक्रिया सुरु गर्न माग राख्दै प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ । समितिले प्रदेशको नाम कोशी राख्न हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने पुरानै नीति लिएको छ । समितिले हस्ताक्षर फिर्ता लिएको जानकारी नगराएसम्म कोशी नामको पक्षमा उभिने प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले प्रदेशको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । कोशी नामको पक्षमा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेशसभा सदस्यहरू उभिएका थिए । प्रदेशको नाम कोशीको पक्षमा उभिएका प्रदेशसभा सदस्यहरूलाई पहिचान पक्षधरहरूले बहिस्कार गर्दै उनीहरू सहभागी कार्यक्रममा अवरोध गर्दै आएका थिए । अवरोधका कारण पटक पटक प्रहरी समक्ष झडप हुँदै आएको थियो । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

प्रदेशको नामकरणको विवादपछि सरकार र पहिचान पक्षधरहरूबिचमा पटक पटक वार्ता भएको थियो । तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि पहिचान पक्षधरहरूले शान्तिपूर्ण गतिविधि गर्ने बताएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दै आएका पहिचान पक्षधरहरुले पुनः प्रदेशसभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निषेधको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू