इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै प्रहार भएको आगोको गोला आँगनमा खसेको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण हुँदा नेतान्याहूसहित उहाँको परिवारका कोही पनि सदस्य घरमा नभएकाले घटनाबाट क्षती पनि नभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ । आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।
यसअघि अक्टोबर १९ तारिखमा हिजबुल्लाहले नेतान्याहूको घरमा ड्रोन आक्रमण गरेको थियो । त्यसबोला नेतान्याहू र उहाँकी पत्नी घरमै भए पनि कुनै क्षती भएको थिएन । इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा लेख्दै आक्रमणबारे अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभएको छ । इजरायलको सुरक्षा प्रणालीले लामो दूरीका मिसाइल निष्क्रिय बनाउन सके पनि छोटो दुरीका आक्रमणलाई रोक्न सकिरहेको छैन । नेतान्याहूको घरमा भएका दुवै आक्रमण छोटो दुरीबाट कम उचाइ हुँदै गरिएका रोयटर्सले जनाएको छ ।