अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 22:39

निर्देशक/कलाकार माओत्से गुरुङसँग “अग्निदहन” फिल्मलाई लिएर गरिएको छोटो कुराकानी

बिआरटीनेपाल २०८१ कार्तिक ३० गते ९:२३ मा प्रकाशित

काठमाडौँ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौँ फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशक समेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ मा धामीको चरित्रमा दर्शकमाझ आउँदछन् । माओत्सेसँग फिल्मलाई लिएर गरिएको छोटो कुराकानी:

धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ?
धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो ।

यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ?
धेरै तयारी थिएन । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।

ट्रेलर हेर्दा तपाईले धामी भएर महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गर्नुभएको छ । यो काम तपाईँका लागि कत्तिको चुनौतीपूर्ण थियो ?
म फिल्मको कथाको पात्र भएर घटनामा उपस्थित भएको हुँ । त्यस कारण खासै समस्या चाहिँ भएन ।

माओत्से गुरुङले अहिलेसम्म दर्शकले सकारात्मक चरित्रमा हेरिरहँदा यो फिल्ममा तपाई नेगेटिभ चरित्रमा देखिनुभएको छ । आफ्नो इमेज बिग्रिएला कि भन्ने डर छ कि छैन ?
म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस यस्तै मात्रै भूमिका गर्छु भनेर कहिले पनि रोज्दिन । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु । दर्शकहरूले पनि सायद मबाट यस्तै भूमिकाको आस गर्नुहुन्छ होला ।

तपाईको बुझाइमा बोक्सी आरोपित महिलाप्रति धामी किन यति क्रुर बन्छन् ?
मैले सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो ।

धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो कि ?
मैले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुँ । सामान्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले खासै धेरै अनुसन्धान गरिनँ ।

के कुराले तपाईलाई अग्नि दहनमा काम गर्ने इच्छा जाग्यो ?
‘अग्निदहन’को निर्देशक घनश्याम लामिछाने मेरो मित्र पनि हुनुहुन्छ । उहाँले ‘तपाईलाई सुहाउने एउटा रोल छ भनेर भेटौ’ भन्नुभयो । उहाँलाई भेटेँ । रोल पनि सुने । आफ्नो रोल मनपरेपछि फिल्ममा जोडिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय