अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 04:16

जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्छ : राष्ट्रपति पाैडेल

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:३८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरूलाई न्याय दिन उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन ‘कोप–२९’ का क्रममा आज किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरूको आफ्नै कारणले नभई विकसित राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनका कारण भएको राष्ट्रपति पौडेलको भनाइ छ । थामेको बाढीसहितका उदाहरण प्रस्तुत गर्दै उहाँले हिमाली क्षेत्रमा समस्या बढिरहेको बताउनुभयो ।

यस्तै आजै पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन शीर्षकको उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्य गर्न आह्वान गर्नुभएको छ । यसअघि हिजो राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नुभएको थियो । कोप २९ आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल आउँदो शुक्रवार स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू