अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 17:21

‘हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन सफल भयौं’

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:३५ मा प्रकाशित

नेपालसहित जलवायुजन्य जोखिममा परेका पर्वतीय मुलुकहरुले हिमाल वातावरण अनुकुलित गराउने माध्यम भएकाले संरक्षणमा लाग्न विश्वको ध्यानाकर्षण गराएका छन् ।बुधबार अजरबैजानको बाकुमा जोखिममा परेका पर्वत र हिमाली क्षेत्रका हानी नोक्शानीको बारेमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममार्फत नेपालसहितका पर्वतीय मुलुकले विश्वको ध्यानाकर्षण गराएका हुन् ।कार्यक्रममा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी लगायत विज्ञहरुले नेपालका पर्वतहरुमा परेका समस्याबारे विश्वमाझ धारणा राख्नुभएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाका प्रमुख सिन्धुप्रसाद ढुंगानाले कोप २९ को अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले पर्वतका मुद्दाहरु विश्वमाझ उठाएको बताउनुभयो ।

पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखिमका कारणले भइरहेका हानी, नोक्शानीलाई कसरी सम्बोधन गर्ने र त्यसले कति क्षति पुर्याइरहेको छ भन्नेबारेमा विश्वको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले नेपालको हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन आफूहरु सफल भएको बताउनुभयो । कार्यक्रममा पर्वतीय देशहरु संकटमा रहेको र संकटका कारण मानव समुदायमा हानी नोक्शानी भएकोबारे छलफल भएको हो । नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा किर्गिस्तान, ताजकिस्तान, बेलायत, फ्रान्स लगायतका पर्वतीय मुलुकहरुको सहभागीता रहेको थियो । सहभागी देशहरुले नेपालले पर्वतीय मुद्दामा लिएको नेतृत्व महत्वपूर्ण रहेको र पर्वतीय मुद्दामा लिएको नेतृत्वलाई अझ उजागर गर्नुपर्छ सन्देश दिएका छन् ।

नेपालका प्रतिनिधिसँग अजरबैजानमा कुराकानी गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालले उच्चस्तरीय सत्रमा नेपालसहित पर्वतीय मुलुकहरुले पर्वतहरु संकटमा रहेको र सबैले संरक्षण गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । उहाँले कार्यक्रममा बेलायत, माल्दिभ्सहित सहभागी देशका प्रतिनिधि र किजिकिस्तानका राष्ट्रपतिले आफ्नो धारणा राख्नुभएको बताउनु भयो । साथै राष्ट्रपति पौडेलले पर्वतीय मुुलुकहरु मिलेर हिमालमा परेको असरबारे आवाज बलियो बनाउनुपर्ने धारणा राख्नुभएको बताउनुभयो ।

हिमाल वातावरण अनुकुलित बनाउने माध्यम भएकाले पनि सबैले संरक्षण गर्नुपर्ने निचोड बैठकको रहेको बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू