मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाइ मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालीन शीतल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ ।
मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा झुम्मिदा सन्ध्याकालीन शरद ऋतुको शीतल वातावरणलाई मनमोहक बनाइरहेको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ ।
यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा चकेवामा श्रीमान—श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुँगालाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन् । यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा समेत गर्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन् । भाइले घुँडामा राखेर सबै मूर्ती तोड्छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई चिउरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । सामा चकेवा पर्वलाई भाई बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ ।
पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेशको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको कतिपयको भनाइ छ । भगवान कृष्णका छोरा साम्ब र छोरी श्यामाबीचको स्नेहको प्रतिकको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्व श्यामा र साम्ब बीचको अगाध स्नेहकै स्मरणमा मिथिलाञ्चलमा मनाइने गरिन्छ । सामा चकेवा पर्वको विषयमा पद्यमपुराण, स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।