अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 15:40

भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ६:०२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभयो ।‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हा, लोकतन्त्रको यही आलोकलाई अङ्गीकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपति पौडेलको भनाइ थियो । ‘त्यसका लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ ।’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसङ्गति बेहोर्नुपर्ने थिएन भन्दै तथापि बिपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताउनुभयो । बिपीले गणेशमानका बारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै उहाँले गणेशमानजी साहसी वीर र सङ्घर्षशीलका साथै भविष्य द्रष्टा पनि भएको बताउनुभयो ।

नेपालमा लोकतन्त्र स्थापना र पुन स्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।‘दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्धान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदाबाजी गर्नुभएन, सिंहको त्यही सद्गुण नै लोकतन्त्र प्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणा पुञ्ज हो भन्ने मलाई लाग्दछ ।’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन भन्नुभयो । कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू