अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 17:21

च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान नजाने भारतको निर्णय

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:४८ मा प्रकाशित

भारतले च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान नजाने निर्णय गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई पत्र लेखेर सुरक्षाका कारण आफ्नो टोली पाकिस्तान जान नसक्ने जानकारी गराएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।भारत सरकारले नै बीसीसीआईलाई पाकिस्तान नजान सल्लाह दिएकोले यस्तो निर्णय भएको बीसीसीआईलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । भारतको टोली पाकिस्तान नजाने भएपछि यसअघिको एशिया कपमा जस्तै हाइब्रिड मोडल अपनाउनुपर्ने भएको छ । भारतले खेल्ने खेलहरु यूएई वा श्रीलङ्का जस्तै अरू देशमा खेलाउनुपर्नेछ । तर पाकिस्तानले हाइब्रिड मोडल अस्वीकार गरिसकेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष मोहसिन नकवीले हिजो मात्रै हाइब्रिड मोडेल प्रयोग गर्न अस्वीकार गरेका थिए । आठ टोलीले खेल्ने च्याम्पियन्स ट्रफी आउँदो वर्ष सन् २०२५ को १९ फेब्रुरुअरीदेखि ९ मार्चसम्म पाकिस्तानका तीन वटा स्टेडियममा खेलाउने तालिका छ । यसअघि भारतमा भएको एकदिवशीय विश्वकपमा पाकिस्तान सहभागि भए पनि गएको वर्ष पाकिस्तानमा भएको एशिया कपमा भारत पाकिस्तान गएको थिएन । एशिया कपका धेरैजसो खेल श्रीलङ्कामा भएका थिए ।

च्याम्पियन्स ट्रफी प्रतियोगितामा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन् । राजनीतिक सम्बन्धका कारण भारतले २००८ को एशिया कपपछि पाकिस्तानको भ्रमण गरेको छैन ।

प्रतिक्रिया