अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 03:38

ठिनीको उकालो

लीलाराज दाहाल २०८१ कार्तिक २३ गते ९:३८ मा प्रकाशित

लघु नियात्रा

“मुस्ताङ जानु, ठिनी गाउँ र धुम्बा ताल नजानु । के अर्थ भयो र । ” जोमसोम ओर्लेदेखि नै हाम्रो मन तुलबुल भइरहेको थियो । विक्रमाब्द २०८० साल श्रावण ६ गते दिनको १२ बजे हामी जोमसोम आइपुगेका थियौँ । हाम्रो यायावरी यात्राका अगुवा हुनुहुन्छ – ख्यातिप्राप्त स्रष्टा खगेन्द्र गिरि “कोपिला” । जोमसोममा आइपुगेदेखि नै हामीलाई यहाँको बेगिलो हावाले स्वागत गरिरहेको थियो । त्यसो त जोमसोमको हावा देशभरि मै प्रसिद्ध छ । आजको दिन भने हामीले जोमसोमको हावा धेरै बेर बेहोर्न परेन ।

खगेन्द्र दाजुले भन्नुभयो, “भाइ, आज यहाँ नबसौँ । मुक्तिनाथ नै जाऊँ । भोलि यहाँ बसौँला । ”

भोलिपल्ट बिहानको खाना खाएर हामी फेरि मुक्तिनाथबाट जोमसोम झरेका थियौँ । मुस्ताङ हेरिटेज होटेलमा कोठा लियौँ । होटेलको काउन्टरमा नाम दर्ता गराएर माथिल्लो तलाको कोठामा झोला थन्क्याएपछि होटेलकी साहुनी थकाली दिदीसँग केही बेर गफियौँ । धुम्बा ताल र ठिनी गाउँको बारेमा उनैसँग जानकारी लियौँ ।

उनले भनिन्, “धुम्बा ताल धेरै टाढा छैन । पाँच छ किलोमिटर हो यहाँदेखि । छिटो हिँड्ने मान्छेलाई एक घण्टाको बाटो त हो । तपाईंहरुलाई बढीमा दुई घण्टा जति लाग्ला । ठिनी गाउँ पनि राम्रो छ ।”

अनि कालो चिया पिएर हामी फुक्काफाल भएका थियौँ । हाम्रो मनभरि उत्साहको लहर सलबलाइरहेको थियो । दिनको १ बज्ने सुरसार गर्दै थियो । पानीको बोतल, भुटेको चना र काजु हाम्रा साथी छँदै थिए । यिनैका साथ लागेर हामी बिस्तारै होटेलबाट बाहिरियौँ । जोमसोम बजारको मध्य भागमा रहेको मुस्ताङ हेरिटेज होटेलबाट काली गण्डकीको पुल तरेर पूर्वतर्फ तेर्सो तेर्सो हिँडेर हामी मुल बाटोमा निस्कियौँ ।

“आजको हाम्रो गन्तव्य ठिनी गाउँ र धुम्बा ताल हो । “खगेन्द्र दाजुले खुसीको लहरमा लहरिँदै यति भन्दा मेरो मन पनि उमङ्गले फुर्किरहेको थियो ।

तेर्सो तेर्सो हुँदै हाम्रो बाटो पूर्व दक्षिणतिर उकालियो । यहाँ आइपुग्दा हामीलाई फेरि दिशा भ्रम भयो । कुन दिशातिर गइरहेका छौँ भन्ने अनुमान गर्न पनि गाह्रो भइरहेको थियो । होटेलबाट निस्कँदा पूर्वतर्फ लाग्यौँ जस्तो लागेको थियो । अहिले फेरि दोधार भएको छ । मोबाइलको संयन्त्रले पश्चिम जाँदै छौ भन्दै छ भने हाम्रो मनले पूर्व दक्षिण जाँदैछौं भन्दै छ । केही बेरमा हामी अलिमाथि उचाइमा पुग्यौँ । जति माथि पुग्यो, झन् झन् हावाको धक्का महसुस गरिरहेका थियौँ ।

माथिको उचाइबाट त जोमसोम बजार, एयरपोर्ट र स्याउका बगैँचाहरू साह्रै सुन्दर देखिँदा रहेछन् । तीनतिरबाट उजाड सुख्खा हिमालहरूद्वारा घेरिएर काली गण्डकीको काखको गहिरो खोँचमा टुक्रुक्क बसेको जोमसोम बजारले किन किन हाम्रो ध्यान तानिरहेको थियो । हावा र स्याउका नामले प्रसिद्ध जोमसोमलाई हामी केही बेर हिँड्दै अनि फेरि फर्केर हेर्दै गरिरहेका थियौँ । मध्यान्हको घाम, जोमसोमको हावा र ठिनीको उकालो हामीलाई सताउन तँछाडमछाड गरिरहेका थिए । एक घण्टाको हिँडाइले नै हामी पर्याप्त थाकिसकेका थियौँ तर हाम्रो मनको जोस भने घटेको थिएन ।

“भाइ, एउटा फोटो खिचौँ है । ” खगेन्द्र दाजुको अनुहारमा उत्साहको लहर सलबलाइरहेको थियो । स्याउका बगैँचा र जोमसोम बजारलाई मध्य भागमा पारेर फोटो खिच्ने काम सम्पन्न गर्‍यौँ र फेरि उमङ्गका पाइला टेकेर यात्रालाई अगाडि बढायौँ ।

ठिनी गाउँ आइपुग्यो । रमाइलो रहेछ गाउँ । सांस्कृतिक रूपमा असाध्यै धनी रहेछ यो गाउँ । थकाली र गुरुङहरूको बसोबास रहेको ठिनी गाउँ अग्लो ठाउँमा भए पनि हरियालीयुक्त समथर फाँटका कारण सुन्दर रहेछ । छेउछेउमा स्याउका बगैँचा र बिचमा गुजमुज्ज परेको बस्ती ठिनी गाउँको विशेषता रहेछ । स्याउका बोटहरूमा चिचिला फल झुलिरहेका थिए । स्याउको बगैँचा छेउमा रहेको बाटोमा केही बेर सुस्तायौँ । पानी पियौँ अनि चनाका दाना टोक्न थाल्यौँ । हाम्रो मन भने धुम्बा ताल पुग्नलाई बडो वेगले दौडिरहेको थियो ।

“यो समय मुस्ताङ आउन उपयुक्त समय होइन रहेछ । “मेरो मनमा खेलिरहेको कुरालाई मैले धेरै बेर मनभित्रै राखिरहन सकिनँ । ओठबाट फुत्की हाल्यो ।

“त्यसो होइन नि भाइ । सबैभन्दा राम्रो समय यही हो मुस्ताङ आउनलाई । “खगेन्द्र दाजु मेरो कुरालाई सच्याइरहनु भएको थियो । हिमाली क्षेत्रमा यात्रा गर्ने उपयुक्त समय बर्षात नै हो भनेर उहाँ जोड गरिरहनु भएको थियो ।

“खोइ, मुस्ताङ आएर एउटा दानो स्याउ पनि चाख्न पाएको होइन । अनि के उपयुक्त समय हो भनेर भन्नु ।” स्याउका बोटहरूमा झुण्डिरहेका स्याउका चिचिला दानाहरूतिर हेर्दै मैले भनेँ ।

“स्याउ खाने बेला त असोज कार्तिकतिर हुने रहेछ ।” मैले मुस्ताङको स्याउ खाने अनुमानित समय भन्नै लागेको थिएँ । खगेन्द्र दाजुले उछिनेर भन्नुभयो, “स्याउ खान नपाएर के भयो र भाइ । भरे जोमसोम झरेर स्याउको मार्फा चाखौँला नि । ”

स्याउको मार्फाको उच्चारण गरिरहँदा दाजुको अनुहार केही अप्राप्य वस्तु फेला पारेको बालकको जस्तो उज्यालो देखिएको थियो । खुसीको लहर त मेरो अनुहारमा पनि प्रकट भइरहेको थियो ।

हामी हिँडिरहेका थियौँ धुम्बा ताल पुग्ने बाटै बाटो । बाटातिर भेडा र च्याङ्ग्राका बथानको सामना गर्नु परेन हामीले । चौंरी गाई र याकहरूले पनि कुनै दुःख दिएनन् । उनीहरू त पर पर काँडेदार बुट्यानहरूमा चरिरहेका थिए । ठिनी गाउँ माथिको महानेलाई टाढैबाट नमस्कार गरेर हामी अगाडि बढिरहेका थियौँ ।

गाउँ सकियो । हाम्रो बाटो पनि ओरालो लाग्यो । दुई वटा बाटो आएकाले हामी अल्मलियौं । बाटो सोध्नलाई कोही भेटिन्छ कि भनेर हामी यताउता नियाल्दै थियौँ । तल खोलाको किनारमा पहरो ताछिरहेको स्क्याभेटर देखेर मन प्रसन्न भयो । नजिकै पुगेपछि स्क्याभेटर चलाइरहेका अपरेटरलाई सोधेँ, ” धुम्बाताल पुग्ने बाटो कुन होला । हामी त अल्मलियौं । ”

हामी हिँडिरहेको बाटो नै सही रहेछ । खोलाबाट फेरि बाटो उकालो लाग्यो । हामीले बोकेको पानीको बोतल रित्तिइसकेको थियो । रित्तो बोतलले हामीलाई भनिरहेको जस्तो लाग्यो, ” म त सकिएँ है । यो मध्यान्हको उखुम गर्मीमा के पिउँछौ अव । अघिदेखि नै अलि फारो गरेर पिउनु पर्दैन मलाई ? खुच्चिङ ।। ”

बेगिलो बतास र चर्को घामका कारण मेरो पनि ओठ मुख सुकिसकेको थियो । शरीरबाट बर्खे खोला झैँ पसिना बगिरहेको थियो । हामीलाई अलमल गर्ने छुट थिएन । धुम्बा ताल पुगेर बेलुका जोमसोम फर्किनै पर्ने बाध्यताको डोरीले बाँधिएका थियौँ हामी । त्यसैले हाम्रो पैदल यात्रा अनवरत रूपमा चलिरहेको थियो । बाटोभरि भेडा, च्याङ्ग्राका बड्कौला र खच्चरका लिदीको गन्धले सिधै प्रवेश पाइरहेका थिए हाम्रा श्वास नलीको भित्रैसम्म । हामी असिनपसिन हुँदै लम्किँदै थियौँ गन्तव्यतिर । अलिमाथि पुगेपछि फेरि अर्को गाउँ आइपुग्यो । एउटा पसल पनि भेटियो बाटोमा । सय रुपैयाँमा दुई बोतल पानी लिएपछि भने हाम्रो शरीर पानीबाट बाहिर निकालेको माछालाई फेरि पानी मै छोडे जस्तो आनन्दित भएको थियो ।

यस गाउँलाई पनि अचेल धुम्बा ताल नै भन्दा रहेछन् तर यस गाउँको वास्तविक नाउँ भने साम्ले रहेछ । बाटो अव तेर्सो तेर्सो हुँदै तालको नजिकै पुगेर अडियो । तालको प्रवेशद्वार भित्रपट्टि चिया खाजाको होटेल रहेछ । खगेन्द्र दाजु होटेलभित्र पसेर सोधखोज गर्न थालिसक्नु भएको थियो । मचाहिँ माइत हिँडेकी युवती झैँ लम्केर सिधै ताल छेउमा पुगेर मात्रै अडिएँ ।

हिमालमा अवस्थित ताल त्यसै पनि सुन्दर हुन्छ । हरियो कञ्चन पानीको दह । ताल खासै ठुलो त होइन । २८३० मिटरको उचाइमा रहेको, लगभग ३०० मिटर लम्बाइ र करिब १५० मिटर चौडाइमा फैलिएको यो ताल नियाल्न आँखाको अगुवाइमा शरीरलाई पछि लगाइरहेको थिएँ । तालबाट निलगिरी हिमालको मनमोहक दृश्यावलोकन गर्दा मन भने खुसीले त्यसै त्यसै रमाइरहेको थियो ।

उजाड, वनस्पतिविहीन सुख्खा हिमालहरूको काखमा रहेको यस ताललाई बौद्ध धर्मावलम्बीहरूले असाध्यै पवित्र मान्दा रहेछन् । यो तालको पानीको श्रोत भनेको निलगिरी हिमालमा पर्ने हिउँ रहेछ । धुम्बा ताल भनेको जोमसोमको मणि हो भनेर कतै पढेको थिएँ । साँच्चै हो रहेछ । वरिपरि अग्ला रुखहरूद्वारा घेरिएको, चारैतिर फलामे रेलिङ लगाएर संरक्षण गरिएको धुम्बा तालले बर्षौंनी हजारौँ पर्यटकहरूलाई मुस्ताङमा भित्र्याउने अनुमान गरी तालमा उठिरहेका मसिना मसिना छालहरूको अवलोकनमा मग्न थिएँ म । तालको पानीको सम्मुख भएर बेन्चमा बसेर धुम्बा तालको सौन्दर्य नियालिरहँदा जोमसोमको आकर्षण यो ताल पनि हो भन्ने मेरो मनले पनि स्वीकार गरिसकेको थियो । कञ्चन हरियो रङ्गको पानी छोएर आएको बतासको चिसोपनले शरीरको थकान पनि बेपत्ता भैसकेको थियो ।

“भाइ, एक्लै एक्लै यहाँ बसेर तालको सौन्दर्यपान गरिरहँदा दाजुको याद आएन ? ” खगेन्द्र दाजु होटेलमा बसेर मानिसहरूसँग यहाँको वस्तुस्थितिको जानकारी लिई नियात्राको सामल जुटाएर भर्खर तालछेउमा आइपुग्नु भएको थियो ।

“कति सुन्दर ताल, हगि भाइ । । कति हरियो कञ्चन पानी । कति सफा । हेरिरहूँ लाग्ने धुम्बा ताल । रारा र शे फोक्सुण्डो भन्दा के कम छ र यो सुन्दरतामा । जोमसोमबाट खासै टाढा पनि होइन । यो ताल त साँच्चै अन्यायमा परेको रहेछ । ” दाजु अव भावनाको तालमा पौडिन थालिसक्नु भएको थियो । तालको चारैतिर घुमेर हेर्यौं । ताल छेउमा रहेका बेन्चमा बसेर पानीको लहरसँगै हामी पनि निकै बेर लहरायौँ ।

धुम्बा ताल हेरेर, घुमेर यति छिटै अघाउनु सम्भव थिएन । समय घर्किरहेको थियो । दक्षिण पश्चिमतिर हिमालको थुम्कोमुनि झर्न लागेको सूर्यले भन्दैथियोे, ” ल है, केटा हो । तिमीहरू ताल हेरेरै बसिराख । म चाहिँ पातालतिर लागेँ अव । ”

बेलुकाको शक्तिहीन सूर्य पहेँलिएर तलतल झरिरहेको थियो । हामीले फेरि भेट्ने बाचासहित धुम्बा ताललाई बिदाइका हात हल्लायौँ ।

तलको गाउँमा आएर एक छिन सुस्ताउने र चिया पिएर झर्ने सल्लाह अनुसार एउटा होटेलमा पस्यौँ । एउटी बुढी आमाको होटेल रहेछ बाटैमा । थाकेको ज्यानलाई केही बेर आराम दिने उपायको खोजीमा थिएँ म पनि । होटेलको अगाडि भागमा फूलबारी सजाएको देखेर मैले ती आमासँग जिज्ञासाको पोको फुकाएँ । ती आमाले भन्नुभयो, ” मैले त के सक्नु । नातिले लगाएको हो फूलका बिरुवा । ”

गफ गर्दै जाँदा थाहा भयो । ती आमाको नाम छेतेन डोल्मा र माइती लोमान्थाङ रहेछ भने पुर्खाहरू तिब्बतबाट आएका रहेछन् । तिब्बती लामा संस्कारमा हुर्केकी छेतेन डोल्माले हामीलाई यताको जनजीवन, धुम्बा ताल, कुचुप तेरेङ्गा गुम्बा र लामा परम्पराका बारेमा धेरै कुरा बताउनु भएको थियो ।

“एक दुई दिन घुम्न रमाइलो लागे पनि यहाँको जनजीवन त साह्रै कष्टकर पो छ त । ” छेतेन डोल्मा यस्तै यस्तै केही भनिरहनु भएको थियो ।

मैले धुम्बातालको बारेमा पनि केही जिज्ञासा राखेको थिएँ । छेतेन डोल्मा आमाले भन्नुभयो, ” यो तालको पानी लगेर माथि कुचुप तेरेङ्गा गुम्बामा पुजा गर्छौ हामी । मैले सानै उमेरमा सुने अनुसार धेरैअघि यो तालको पानी एक्कासि रातो भयो । बौद्ध भिक्षुले आफ्नो तान्त्रिक शक्तिद्वारा पानीलाई फेरि पुरानै रङ्गमा फर्काउनु भयो । ”

मैले फेरि तालमा देखिएका माछाका बारेमा कुरा उप्काएँ । छेतेनले फेरि भन्नुभयो,” यो तालको माछा धार्मिक कारणले कसैले पनि खाँदैनन् । हेर्नलाई मात्रै हो । ”

हामीलाई उहाँको कुरा मार्मिक र रोचक लागिरहेको थियो । यहाँको वरिपरि खेती, व्यापार व्यवसाय, धार्मिक र सांस्कृतिक अवस्थाका बारेमा गफको सिलसिला चलुन्जेल चिया तयार भैसकेको थियो । चिया पिएपछि दाजुले टिम्मुरको धुलो पनि लिनुभयो र बाटोभरि गफ गर्ने विषय त्यही अक्सिजन बृद्धिचुर्णलाई बनाउँदै हामी खुरुखुरु जोमसोमतिर ओर्लियौँ ।

झम्के साँझपछिको कलिलो रातको अँगालोमा बेरिएको जोमसोम बजार बिजुली बत्तीको उज्यालोमा मुस्कुराइरहेको थियो ।

+++++++++++++++
बागमती ११, कर्मैया, सर्लाही