अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 09:47

युक्रा न्युयोर्कद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ९:२६ मा प्रकाशित

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको न्यु योर्क स्टेटमा युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरद्वारा आयोजित बलिहाङ चाडको अवसरमा देउसी-भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम युक्रा न्यु योर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने च्याप्टर महासचिव बिके(सन्तोष) राईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई च्याप्टरकै वरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत भाषणद्वारा स्वागत गरी सुरुवात गरिएको थियो । जनजाति महासङ्घ नेपालीको पूर्व उपाध्यक्ष तथा जनजाति महासङ्घ अमेरिका(फिप्नाको) वर्तमान सल्लाहकार डण्डु ढ्योक्पा शेर्पाको प्रमुख आतिथ्य भएको थियो ।

नेपालीहरूको महान् चाड मध्ये तिहार अर्थात् बलिहाङ चाडमा सामान्यतया लक्ष्मीपूजाको दिनबाट देउसी-भैलो सुरु गरिने प्रचलन छ । अमेरिका बस्ने नेपालीहरूले भने व्यस्त जीवनशैलीका कारण क्यालेन्डर भन्दा केही दिन अगाडि नै उपयुक्त समय मिलाएर जुनसुकै चाड पर्व पनि मनाउने चलन रहेको छ । यसै अनुरूप यस वर्षको देउसी-भैलो पनि लक्ष्मीपूजा भन्दा अगाडि मानिएको अध्यक्ष ममता खालिङ राईले बताइन् ।

उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ राई र मेयर कार्यालयकी दक्षिण एशियाली समुदाय सम्पर्क(इकाई) पत्रिसिया रघु नन्दन (सुखरानी) थिए । यसै गरी अतिथिहरूमा जनजाति महासङ्घ अमेरिका (फिप्ना)का वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ, एनआरएनए न्यु योर्क च्याप्टर कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा, ईन्टरनेश्नल मार्शल आर्ट्स एशोसियसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय कराँते निर्णायक पर्खी खालिङ राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, युक्रा केन्द्रीय उपाध्यक्ष केशवराम राई, युक्रा केन्द्रीय बोर्ड सदस्य गरचा किरात, नेपाली कलाकार संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विमल डाँगी, कुइन्स् कम्युनिटी बोरिड-३ का सदस्य तथा मानोरिटी इम्पावरमेन्ट नेटवर्कको अध्यक्ष श्याम कार्की कुइन्स काउन्टी डिस्ट्रिक्ट लिडर तथा कुईन्स कम्युनिटी बोर्ड-२ का सदस्य छेमाङ लामा, कुईन्स काउन्टी डिस्ट्रिक्ट लिडर विष्णु राना मगर, शेर्पा किदुकका महासचिव साङदोर्जे शेर्पा, पत्रकार जस कुमार राई, पत्रकार सम्राट् कार्की, किरात राई यायोक्खा जापानका निवर्तमान अध्यक्ष विनोद राई र जनजातिको महासङ्घ अमेरिकाका महासचिव नारद राई थिए ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि एवम् अतिथिहरूले बलिहाङ चाडको शुभकामना दिएका थिए । शुभकामना मन्तव्य दिदैं फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले तिहारमा मनाइने देउसी-भैलो जनजातिको राजा बलिहाङ राजाको पालादेखि मनाउने प्रचलनमा आएको बताए । शुभकामना मन्तव्यकै क्रममा युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङले बलिहाङ चाडको बारेमा प्रस्ट पारेका थिए भने अमेरिकामा युक्राको पाँच वटा च्याप्टर सबैले बलिहाङ चाड देउसी-भैलो कार्यक्रम आयोजना गर्ने जानकारी गराए। त्यसै गरी युक्रा केन्द्रीय उपाध्यक्ष केशवराम राईले न्यु योर्क च्याप्टरमा यस पटकको बलिहाङ चाड भव्य र पहिले भन्दा रमाइलो र हर्षोल्लासका साथ मनाइएको भनाई व्यक्त गरे ।

प्रमुख आतिथी डोण्डु ढ्योक्प्या शेर्पाले बलिहाङको शुभकामना मन्तव्य दिदैं मेयर कार्यलयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघु नन्दन (सुखरानी) मार्फत न्यु योर्क सिटी मेयर एरिक एड्मस्द्वारा चुनावी अभियानमा नेपाली समुदायलाई जुनसुकै कार्यक्रम गर्नको लागी सुविधायुक्त भवन बनाइदिने भनिएको प्रतिबद्धता पुरा गराउन अनुरोध गरे।

औपचारिक कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ममता खालिङ राईले कार्यक्रममा उपस्थित सबै जनालाई धन्यवाद दिदैं युक्रा न्यु योर्क च्याप्टरका कार्य समितिको कठोर सक्रियता र सदस्यहरूको सहयोगको कारण यस पटकको बलिहाङ चाड पहिले भन्दा पृथक् तथा रमाइलोका सम्पन्न भएको बताइन्।
शुभकामना कार्यक्रम सकिए लगतै देउसी-भैलो सुरु गरिएको थियो। उक्त देउसी-भैलोमा युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ, लोकप्रिय गायक विमल डाँगी तथा स्थानीय कलाकार यशोदा राईले रमाइलो तथा आकर्षक शैलीमा देउसी भट्याएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय