अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 01:56

राष्ट्रपति पौडेल अजरबैजान जाने

बिआरटीनेपाल २०८१ कार्तिक २१ गते ५:२३ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान जाने हुनुभएको छ ।राष्ट्रपति पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नु भएको हो । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जानु हुनेछ ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते सम्मेलनमा राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठक पनि हुने जनाइएको छ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलनमा नेपालले प्रस्तुत गर्ने एजेण्डाका बारेमा तयारी भइरहेको बताइएको छ । सम्मेलन आगामी कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्किनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू