अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 10:03

त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो तथा ११६ औँ लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

अर्जुन प्रधान २०८१ कार्तिक २० गते ११:५९ मा प्रकाशित

ह्यारिसबर्ग, पेनसिल्भेनिया – त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो कार्यक्रम ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको भवन भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औँ लक्ष्मी जयन्ती सम्पन्न भएको छ । मञ्चका सल्लाहकार विष्णु लुइँटेलले लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा सामूहिक देउसी भैलो, रचना वाचन, नृत्य तथा साङ्गीतिक प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको कुरा सहभागीहरूले बताए।

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न नेपाली र अन्य समुदायका सदस्यहरूले सहभागिता जनाए। उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए।

यसै अवसरमा त्रिवेणी साहित्य मञ्चले लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव वैरागी माइलाले घोषणा गर्नु भएको छ । उहाँहरू दुवै जानालाई केन्द्रीय सदस्य आजैबाट रहेको समेत जानकारी गराउनु भएको छ । ओम घिमिरेले ल्यानकास्टरमा साहित्यिक गतिविधि सञ्चालन गर्न धेरै अघि देखि एउटा साहित्यिक संस्थाको आवश्यक रहेको र त्रिवेणी साहित्य मञ्चले शाखा विस्तार गर्दा ल्यान्कास्टर बासीलाई राहत पुगेको भन्दै खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रम संयोजक प्रेम घिमिरे, विष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई मञ्चका सचिव नारद आचार्य सुदामाले सञ्चालन गर्नु भएको थियो । मञ्च कै उपाध्यक्ष श्री प्रेम घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भनी लेकास्टर पिएबाट प्रस्तुत गरिएको स्वागत नृत्यले कार्यक्रम अझ रोचक बनाएको थियो ।

यस किसिमका कार्यक्रमले नेपाली समुदायलाई एक आपसमा नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएका छन्। हिमालयन तेक्वान्दो कि प्रशिक्षक पुनम शर्माले हिमालयन तेक्वान्दोको तर्फबाट सबैलाई शुभकामना सन्देश दिनुभएको थियो ।

प्रमुख अतिथि श्री प. हरि फुएलले तिहारको धार्मिक र सामाजिक महत्त्वलाई जोड दिँदै तिहारको शुभकामना दिनुभएको थियो ।

विशेष अतिथि विनय लुइँटेलले नेपाली र अंग्रेज़ी भाषामा स्थानीय जन प्रतिनिधिहरूलाई तिहारको महत्त्वबारे जानकारी दिनुभयो । जेनेल स्टिलसन , किम प्याटि , डेभ मेडसनले आफुहरु यस किसिमको कार्यक्रम उपस्थित हुन पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै सबै तिहारको शुभकामना दिनुभएको थियो । ओम घिमिरे , नकुल शर्मा, ओम भट्टराईको उपस्थितिमा रहेको कार्यक्रमले युवा जमातमा अझै नेपाली पन, नेपाली संस्कृति बचेको रहेछ भन्ने प्रमाण गर्‍यो ।

कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठनका कक्षा सञ्चालन गर्ने योजना बनिरहेको जानकारी दिनु भयो साथै उद्घोषण तालीम चाडै गराउने र” दिनको एउटा कथा ” संग्रह तयारी हुँदै गरेको उपस्थित सबै सूचना प्रवाह गर्नु भयो ।

नेपालीहरू अर्को महान् चाड तिहारको शुभकामना दिँदै कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्नु भएको थियो ।

सम्बन्धित सामग्रीहरू

लोकप्रिय