अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 12:26

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०८१ कार्तिक २० गते ६:१७ मा प्रकाशित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीलाई काममा लगाउन निर्देशन दिनुभएको हो । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनुभयो । संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्यालाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिनुभयो ।

राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायबीच समन्वय गरी काम गर्न पनि अर्थमन्त्रीले निर्देशन दिनुभयो । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताउनुभयो । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू