अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 01:09

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

बिआरटीनेपाल २०८१ कार्तिक २० गते ५:०० मा प्रकाशित

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताउनुभयो । उहाँले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो । उहाँले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताउनुभयो ।हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्शान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गर्नुभयो । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पार्नुभयो । ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताउनुभयो ।महानिर्देशक अधिकारीले भन्नुभयो, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घटने भयो ।’

प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिव ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिनुभयो ।महानिर्देशक अधिकारीले भन्नुभयो, ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ । उहाँहरू एकदमै सकारात्मक हुन्छ । यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ । यो वर्षौंदेखि पाइलटले खोजेको कुरा हो नि ।’ सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू